टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौँ । टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै कीर्तिमान राख्दै ४६औँ स्थान हासिल गरेकी हुन् ।

५० खेलाडी खेलेको छनौट चरणमा कल्पनाले बोस्निया, किर्गिस्तान, श्रीलंका र सरणार्थी टोलीका खेलाडीलाई पछि पारेकी हुन् । कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१ स्कोर गरेकी थिइन् भने चौथोमा १०४.१ र पाँचौमा १०३.४ स्कोर गरेकी थिइन् । समग्रमा ६१६.८ स्कोरसहित उनी राष्ट्रिय कीर्तिमान कायम गर्न भने सफल भएकी हुन् । यसअघि १३औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले नै ६१४.५ स्कोरसाथ राष्ट्रिय कीर्तिमान आफ्नो नाम गरेकी थिइन् ।

छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन् । छनोटमा नर्वेकी हेग दुस्तादले (६३२.९) शीर्ष स्थान हासिल गरिन् भने दक्षिण कोरियाकी पार्क हिमुन (६३१.७), अमेरिकी मेरी टकर (६३१.४), दक्षिण कोरियाकै यूंजी क्वोन (६३०.९), फ्रान्सेली ओसिएन मुलर (६३०.७), चीनकि किआन याङ (६२८.७), स्विस निना क्रिस्तिएन र आरओसीकी अनास्तासिया गलाशिना (६२८.५) ले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आज नै तालिका रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री