काठमाडौं । नेपाल आयल निगमले एनसीएचएलको प्रणालीमार्फत भुक्तानी संकलन गर्ने व्यवस्थासहितको एसएपी प्रणालीको औपचारिक रुपमा थालनी गरेको छ।
यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाहरुको शाखा मार्फत निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन् । औपचारिक थालनीको चार दिनमा नै निगमको ३.९७ अर्ब बराबरको भुक्तानी संकलन भएको जनाएको छ ।
विभिन्न प्रकृयाहरु पूर्ण स्वचालित गर्न सकिने विश्व प्रख्यात एसएपी प्रणालीलाई नेपालमा सञ्चालन गर्ने नेपाल आयल निगम पहिलो सरकारी निकाय बनेको छ र यसरी स्वचालित रुपमा सञ्चालन गरिने उक्त प्रणालीमा डिलरहरु मार्फत संकलन पनि एनसीएचएलको प्रणाली मार्फत अनलाइन माध्यमबाट नै गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यस सँगै निगमले एनसीएचएलको सहकार्यतामा आफ्ना अरु विभिन्न खर्चका भुक्तानीहरु पनि अनलाइन मार्फत गर्न आवश्यक पहल गरिसकेको र छिटै लागू हुने योजना रहेको पनि जनाएको छ ।
डिलर पार्टनरले निगमलाई कसरी भुक्तानी गर्ने ?
१. डिलरले आफ्नो बैंक/वित्तीय संस्थालाई भुक्तानी आदेशसँगै आफ्नो Customer ID र भुक्तानी गर्ने शीर्षक (Payment Heading) को जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ।
२) बैंक/वित्तीय संस्थाले उक्त जानकारीअनुरुप शाखालाई एनसीएचएलले उप्लब्ध गराएको प्रणाली प्रयोग गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन्।
३) यसरी शाखाबाट रु १० लाखसम्मको रियल–टाइम अन्तरबैंक भुक्तानी गर्न सकिन्छ भने एकै बैंकमा रियल–टाइममा प्रतिकारोबार रु १ करोडसम्म तथा नन रियल–टाइममा रु २० करोडसम्म भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ।
४) त्यसैगरी डिलरहरुले निगमलाई भुक्तानी गर्न www.connectips.com, यसको मोबाइल एप, कर्पोरेटपे तथा डिलरको पोर्टलमा जोडिएको कनेक्ट आईपीएस (गेटवे) मार्फत पनि अनलाइन भुक्तानी गर्न सक्दछन्। यी विभिन्न च्यानलको कारोबार सीमा भने फरक–फरक रहेको छ।
प्रतिकृया दिनुहॊस