काठमाडौं । मनसुनी वायुको कारण आज (आइतबार) पनि देशका धेरैजसो भू–भागमा वर्षा हुने मौसमविदले बताएका छन् । आज दिउँसो देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेश–१, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश–१, वागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको विभागले नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
शनिबार काठमाडौं उपत्यकामा भएको भारी वर्षाका कारण विभिन्न ठाउँमा डुबान भएको थियो भने सवारी आवगमनमा समस्या भएको थियो । धोवी खोला किनारका कतिपय घरमा पानी पसेको थियो ।
प्रतिकृया दिनुहॊस