काठमाडाैँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा अविरल वर्षा हुँदा बाढी, पहिरो र डुबानबाट मर्नेहरूको संख्या ५१ पुगेको छ । यसै गरी २९ जना बेपत्ता भएका छन् । मृत्यु हुनेहरूमा ३१ पुरुष र २० महिला रहेका छन् ।
सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा ३ ३ जना, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा २/२ जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालीकोट, पाँचथर, बझाङ र बाजुरामा एक/एक जना रहेका छन् ।
मनसुनजन्य विपदबाट ७१ जना घाइते भएका छन् । जसमध्ये ३६ पुरुष, १९ जना महिला, ११ जना बालक र ५ जना बालिका रहेका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बाढी र पहिरोमा परी २९ जना अझै बेपत्ता भएका छन् । जसमध्ये १९ पुरुष, ६ महिला, ३ बालक र एक जना बालिका रहेका छन् ।
बाढी पहिरोमा परेका एक हजार २६८ जनाको विभिन्न स्थानबाट उद्धार गरिएको छ । बाढीका कारण एक हजार ५१६ वटा घर डुबानमा परेका छन् । ५६४ वटा घर, ९९ वटा गोठ, ४३ वटा पुल, ३ वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढी, पहिरोका कारण एक हजार १५८ घर परिवारका ५ हजार ४२३ जना विस्थापित भएका छन् ।




