काठमाडौँ । शुक्रबार मध्यरातिदेखि देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राति १२ बजेदेखि वर्षा भइरहेको हो ।
दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
सतर्क रहन आग्रह
देशको अधिकांश स्थानमा वर्षा जारी रहेसँगै नदीहरुमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रौतहट कर्मैया (पधेरादोभान)स्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाएको छ ।
असार १९ बिहान ४ बजे
रौतहट कर्मैया (पधेरादोभान) स्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रहरू र डुबान भइरहने होचा स्थानमा हुनेहरूले उच्च सतर्कता अपनाऔँ।#SMSalert pic.twitter.com/On5IGLF3L8— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 2, 2021
तनहुँको बिमलनगरस्थित मर्स्याङदी नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । त्यस्तै बारास्थित सिमरा विमानस्थल र आसपासका क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएकोले सो क्षेत्रका ससाना खोलाहरूमा आकस्मिक बहावको जोखिम रहेको जनाइएको छ ।
असार १९ बिहान ३:४५ बजे
तनहुँको बिमलनगरस्थित मर्स्याङ्गदी नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ।#SMSalert pic.twitter.com/mZ29mhIgTV— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 2, 2021
लमजुङको खुदीबजार, बेसीसहर र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ । दोर्दी, न्यादी, चेपे लगायतका खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।




