काठमाडौं । सिभिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेलले आज असार १८ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् । गत जेठ २८ गते पोखरेल नियुक्त भएका थिए । पाेखरेलले आजदेखि सीईओ पदको कार्यभार सम्हालेका छन् ।
साे बैंक सञ्चालक समितिको बैठकले असार १८ गतेदेखि लागू हुने गरी उनलाई प्रमुख कार्यकारी नियुक्त गरेको थियो । यससँगै उनले अब आगामी चार वर्षसम्म बैंकको सीईओको जिम्मेवारी सम्हाल्नेछन् । सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पोखरेल अनुभवी बैंकरका रूपमा चर्चित छन् । याे भन्दा पहिले उनी बैंकको निमित्त सीईओको रुपमा कार्यरत थिए ।
उनीसँग विदेशी बैंकदेखि नेपाली बैंकहरूमा पनि लामो समयसम्म काम गरेको अनुभव छ । उनले करिब २० वर्ष तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरेका थिए । एनआइसी एशिया बैंकमा करिब ५ वर्ष काम गरेकाे उनीसँग अनुभव छ । नबिल बैंकमा पनि उनले एक वर्ष काम गरेका थिए ।
उनी २०७६ जेठ २ मा सिभिल बैंकको डेपुटी सीईओमा नियुक्त भएका थिए । उनले हालसम्म तीन दशक बढी समय बैंकिङ क्षेत्रमै बिताइसकेका छन् । सिभिल बैंकका सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि सञ्चालक समितिको बैठकले पाेखरेललाइ सीईओमा नियुक्त गरेको हो ।




