नारायणघाट-मुग्लिङ फेरि बन्द, बाढी/पहिरोले देशभरका १४ सडकखण्ड ठप्प

काठमाडौं । चितवनको नारायणघाट-मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले आज (शुक्रबार) बिहानैदेखि उक्त सडक खण्ड बन्द भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

डोजर लगाएर पहिरो हटाउने काम भइरहेको छ । तर, सडकमाथिबाट ढुङ्गा खसिरहेकाले जोखिम बढेको भन्दै प्रहरीले अत्यावश्यक काम नपरी यात्रा नगर्न आग्रह गर्दै आएको छ । यस्तै पहिरोका कारण मकवानपुरबाट भीमफेदी-कुलेखानी हुँदै काठमाडौं आउने सडक पनि बन्द भएको छ ।

यस्तै ठोरी–भरतपुर–मुग्लिङ आबुखैरेनी–गोरखा–घयाम्पेसा र आरुघाट– सिर्दिवास–रोइला भञ्ज्याङ सडक खण्ड पनि खुलेको छैन । यस्तै मनाङको डुम्रे बेसीसहर–चामे सडक खण्ड पनि ठाउँ–ठाउँमा बन्द छ ।

मनाङको तिमाङखोला, धारापानी, बगरछाप, रामबजार, अर्खले र च्याम्चेमा कतै पहिरो त कतै कटानका कारण सडकमा नोक्सानी पुगेको छ । यो सडक खण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ । यस्तै, अरनिको राजमार्ग अन्तर्गत पर्ने खाडीचौर–कोदारी सडक खण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

गएको असार २ गते बन्द भएको यो सडक खण्ड खुलाउने प्रयास भने भइरहेको छ । बाढी र पहिरोका कारण देशभरका १४ सडक खण्ड बन्द भएको सडक विभागले जानकारी दिएको छ । ४९ सडक खण्ड एकतर्फी रुपमा सञ्चालन भइरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री