तनहुँः पहिरोमा परी दुईको मृत्यु, पक्की पुल बगायो

काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका-३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए । उनका अनुसार पहिरोमा परी सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण चार घर जोखिममा रहेको उनको भनाइ छ ।

पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको छ । घर माथिबाट खसेको पहिरोले घर पुरेको थियो । घटनास्थल जाने बाटोहरु पहिरोले अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ ।

छाब्दी खोलाको पुल बगायो
रातभर परेको अविरल वर्षाका कारण व्यास १ र १३ जोड्ने छाब्दी खोलाको पक्की पुल बगाएको छ । पुल बगेपछि बिहानैदेखि दुई वडाको सम्पर्क विच्छेद भएको छ ।

छाब्दी खोलामा ठूलो बाढी आएपछि पुल भत्किएको भादगाउँका स्थानीय विश्व बाँस्तोलाले जानकारी दिए । उनका अनुसार स्थानीय केही घर जोखिममा परेका छन् । पानीको बहाव अझ नघटेमा थप क्षति हुने सम्भावना देखिएको उनको भनाइ छ ।

छाब्दी खोलामा गएराति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदि लगायत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । पुल बगाएपछि बुद्ध सिंह मार्ग र केशवटार मार्गमा चल्ने गाडीहरु सञ्चालनमा रोक लगाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस