काठमाडौं । काठमाडौ उपत्यकाका तीन जिल्लामा थप एक साता निषेधाज्ञा थपिएको छ । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा नआइसकेकाेले भन्दै सरकारले निषाेधाज्ञा थप गरेकाे छ । गत बैशाख १६ गतेदेखि असार १४ गते साँझसम्म निषेधाज्ञा जारी थियाे । जारी रहेकाे निषेधाज्ञालाई थप एक साता अर्थात असार २१ गतेसम्म लम्बाईएको छ ।
आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा एक साता थप गर्ने तर खुकुलो बनाईकाे छ । निषेधाज्ञा खुकुलो भएसगैँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा २५ सिट क्षमताभन्दा बढीका सवारी साधन सञ्चालन गर्न पाईने छ । सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । सार्वजनिक सवारी साधन जोरविजोर नम्बरका आधारमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै सञ्चालनको अनुमति दिईएको हो ।
यससँगै डिमार्टमेण्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा जुत्ता, फेन्सी, कस्मेटिक, आटोमोबाइल, सुन र भाडाँ पसल, निर्माणजन्य सामग्री लगायतका पसलहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनको अनुमति दिईएको छ । याे भन्दा पहिले खाद्यान्न, डिर्पाटमेन्टल स्टोर तथा पुस्तक पसल बिहान ११ बजेसम्म र अन्य पसलहरु बार अनुसार सञ्चालनको अनुमति दिईएको थियो । अहिले लकडाउन खुकुलाे हुँदै गएपछि सडकमा सवारी साधनहरुकाे भीड देख्न सकिन्छ भने पसलहरु खुलेका कारणा चहलपहल पनि बढ्दै गएकाे छ ।




