काठमाडाैँ । राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले एमालेको कुनै पनि समूहमा नरहने घोषणा गरेका छन् । सर्वोच्चको आदेशले विघटन भएको नेकपाका तर्फबाट राष्ट्रिय सभामा चुनिएका भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा सूचना दर्ता गराएका छन् ।
भुसाल एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका प्रभावशाली नेता मानिन्छन् । उनले आइतबार संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर आफूलाई स्वतन्त्र सांसदको रुपमा व्यवहार गर्न माग गरेका हुन् ।
आफू तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘त्यस पार्टीको संसदीय दलको सदस्य रहेको थिएँ । सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उमेदवार भई निर्वाचित मसहितका जनप्रतिनिधि दलविहीन अर्थात् स्वतन्त्र हुन पुगेको सर्वविदितै छ र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’
आफूले पाउने पारिश्रमिक वा सेवा सुविधाबाट लेबी वा कुनै रकम कुनै पार्टीको खातामा जम्मा नगरिदिन उनले लेखा शाखालाई आग्रह गरेका छन् । भुसालले आफूलाई राष्ट्रिय सभामा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्न र सम्बन्धित सबैलाई यसको आवश्यक जानकारी एवं निर्देशन दिन संसद सचिवालय अनुरोध गरेका छन् ।




