काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दिएको भ्याकेट (पुनरावलोकन) निवेदनको आज सर्वोच्च अदालतमा सुुनुवाइ हुँदैछ ।
ओलीले कर्णाली प्रदेश सभाका चार जना सांसदलाई गरिएको कारबाहीमा रोक लगाउने आदेश खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । पार्टी निर्देशन उल्लंघन गरेको आरोपमा एमालेले पदमुक्त गरेका सांसदहरू अमरबहादुर थापा, प्रकाश ज्वाला, नन्दबहादुर बुढा र कुर्मराज शाहीलाई सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत कामकाजमा फर्काएको थियो ।
सर्वोच्चको उक्त आदेशलाई खारेज गर्न माग गर्दै ओलीले दिएको निवेदन सर्वोच्च अदालतले सोमबार दर्ता गराएका थिए । दशौं महाधिवेशन आयोजक समितिका अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीले गर्ने सबै काम गर्ने गरी महाधिवेशन आयोजक समिति क्रियाशील गरिएको दाबी गर्दै त्यसले गरेका निर्णयले वैधानिकता पाउनुपर्ने दाबीसहित निवेदन भनेका छन् ।
यसअघि चार जना सांसदले आफूहरूलाई राजनीतिक दल सम्बन्धी ऐनका प्रावधानको उल्लंघन गरेर कारबाही गरिएको दाबी गर्दै त्यसलाई बदर गर्न मागसहित सर्वोच्चमा २६ जेठमा निवेदन दिएका थिए । २७ जेठमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सांसदले ह्वीप उल्लंघन गरेमा प्रक्रिया पूरा गरेर पार्टीको केन्द्रीय समितिले कारबाही गर्नुपर्ने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै एमालेको दशौं महाधिवेशन आयोजक समितिको नामबाट गरिएको कारबाहीलाई अन्तरिम आदेश मार्फत रोक लगाइदिएका थिए ।
नेकपा एमालेलाई औपचारिक विभाजनतिर लैजान सक्ने भन्दै चर्चा भइरहेको ‘भ्याकेट’ माथिको आजको सुनुवाइलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।




