काठमाडौं । आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कोरोना महामारीका कारण सार्बजनिक कार्यक्रमको सम्भावना नभएकाले योगका विभिन्न आसन तथा ध्यानलगायतका कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको छ ।
भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउन अभियानलाई संयुक्त राष्ट्र संघको साधारणसभाले ११ डिसेम्बर २०१४ मा मान्यता दिएको थियो । राष्ट्र संघले मान्यता दिएसँगै २१ जुनलाई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिएको छ । पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरु योग गरे समाधान हुने चिकित्सकहरु बताउँछन् ।
सहि योगले तरिकाले गरिने योगले शरीरका अंग र ग्रन्थीहरूको व्यायाम हुने र सबै अंगलाई सहज बनाउन सहयोग गर्दछ । साथै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । बढ्दो उमेरका बीच पनि योगले स्वस्थ र स्फूर्त बनाउछ ।
साथै योगको अर्को महत्वपूर्ण फाइदा तनाव कम गर्ने हो । त्यस्तै मीठो निद्रा लगाउने, भोक जगाउने र पाचनप्रक्रियालाई सही ढंगबाट चलाउने जस्ता फाइदा नियमित योग गर्नेहरुलाई हुने गर्दछ ।




