काठमाडौं । काठमाडौं उपत्यकाबासीलाई राहत दिइरहेको मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि दुई महिना बन्द हुने भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यका अनुसार पानी आउने सुरुङ परीक्षण गरिने भएकाले पानी वितरण नगरिने भएको हो । उनका अनुसार केयूकेएल अन्तर्गतका दुईलाख ३० हजार उपभोक्ता भने जति पानी उपभोग गर्नबाट बञ्चित हुने जनाइएको छ ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्त पानी वितरण भएकै अवस्थामा सुरुङको मर्मत सम्भार गर्न सकिँदैन । ‘पानी पठाएको केही दिनमै वा केही महिना मै परीक्षण गरिनुपर्ने थियो । तर, पानी पठाएको तीन महिनासम्म पनि सुरुङ परीक्षण गरिएन’, प्रवक्ता पन्तले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्न हतार गर्दा यस्तो अवस्था आएको हो । चैत १५ गते केयुकेएलले एकसाथ चुच्चेपाटीको महाँकालको पानी ट्यांकीबाट उपत्यकामा पानी वितरण थालेको थियो । फेरि पछि केयूकेएलले गरेको उद्घाटनको आपत्ति जनाउँदै राष्ट्रपतिद्वारा उद्घाटन गरियो । परीक्षणकै समयमा मेलम्चीको पानी उद्घाटन गर्न नहुने गुनासो उतिखेरै आएको थियो ।
अब दुई महिनाजति उपत्यकाबासीले मेलम्चीको पानी उपभोग गर्न पाउने छैनन् । प्रवक्ता पन्तका अनुसार सुरुङ खालि गर्न करिब १५ दिन लाग्छ । ‘त्यसपछि विज्ञहरुको टोलीद्वारा अनुसन्धान थालिनेछ । अनुसन्धानपछि आएका समस्याहरुलाई समाधान गरिनेछ । सुरुङको परीक्षण सकिएपछि सुरुङमा पानी भर्न उत्तिकै समय लाग्छ’, प्रवक्ता पन्तले भने ।
पानी वितरण गर्ने क्रममा उपत्यकाका सडकमा पानी चुहावट भएको थियो । ठूलो परिमाणमा मेलम्चीको पानी सडकमा चुहावट हुँदा सडक विभागले समेत आपत्ति जनाएको थियो । चरणबद्ध रुपमा पानी बढाउँदै दैनिक १७ करोड लिटर पानी उपत्यकाबासीले उपभोग गर्दै आएका थिए । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले खानेपानी वितरणको तालिका परिवर्तन गरेको छ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ मर्मत गर्नुपर्ने भएकाले पानी आउने तालिका परिवर्तन गरिएको केयूकेएलले जनाएको छ ।
उपत्यकामा मेलम्चीको दैनिक १७ करोड लिटर पानी उपलब्ध हुँदै आएको थियो । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ सफा र आयोजना मर्मत सम्भार गर्न करिब दुई महिना लाग्नेछ । केयूकेएलले सोमबार सार्वजनिक गरेको तालिका अनुसार ४ दिनदेखि १२ दिन बिराएर पानी वितरण गरिनेछ । महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण हुनेछ । भक्तपुरबाट वितरण हुने पानी ४ दिन बिराएर वितरण गरिनेछ ।
बालाजुबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ भने ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर वितरण गरिने छ । कार्यकारी निर्देशक शाक्यका अनुसार केयूकेएलले परिवर्तन गरेकोे पानी आउने तालिका मेलम्ची खानेपानी आयोजना मर्मत सम्भार नसकिएसम्म रहने छ ।




