उपत्यकाका प्रजिअहरुको बैठक, निषेधाज्ञा १ साता थपिन सक्ने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने विषयमा छलफल गर्न आइतबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठक बस्दैछ । आज दिउँसो २ बजे बजे जिल्ला प्रशासन कार्यालय काठमाडौमा बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिएका छन् ।

काठमाडौंमा सातदेखि १५ दिनसम्म निषेधाज्ञा थप गर्ने विषयमा अनौंपचारिक छलफल भएपछि वैठकपछि निर्णय गरिने जनाइएको छ । उनका अनुसार यसपालि विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ । यस्तै, कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने छ ।

यसका लागि निश्चित समय तोकिने छ । ढुवानी र जनशक्तिको व्यवस्थापन कुन समयमा कसरी मिलाउने भन्नेबारे आज निर्णय हुने निरौलाले जानकारी दिएका छन् । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो । निषेधाज्ञा थप्नेबारे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले केही दिनयतादेखि सम्बन्धित निकायसँग छलफल गर्दै आएका थिए । उपत्यकामा पछिल्लो समय थपिएको निषेधाज्ञा भोलिदेखि सकिँदैछ ।

काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम गर्न डेढ महिना भन्दा धेरै समयदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको मारमा परेका विपन्न, मजदुर, यातायात व्यवसायी, स्थानीय तहले निषेधाज्ञा खुकुलो बनाइ काम गर्ने वातावरण मिलाई दिन माग गर्दै आएका छन् ।

काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरी उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै लैजानु पर्ने बताएका छन् । ‘उपत्यकाको संक्रमणदर घट्दै गएको छ । अब जनजीवनमा सहजीकरण गर्दै लैजानु पर्छ’, मेयर शाक्यले भने, ‘उपत्यकाका सवारी आवागमन हुने नाकामा कडाइ गरिनुपर्छ । निषेधाज्ञा एकै पटक नखोली चरणवद्ध रुपमा खुकुलो बनाउँदै लैजानु पर्छ ।’

एकै पटक निषेधाज्ञा खुकुलो पार्दा फेरि संक्रमण फैलिने सक्ने जोखिम रहेकाले गृह मन्त्रालयले तत्काल निषेधाज्ञा हटाउन नहुनेमा जोड दिएको छ । जिल्ला प्रशासन कार्यालय भने निषेधाज्ञा खुकुलो पार्दै जनजीवन सहज बनाउनु पर्नेमा सकारात्मक देखिएका छन् । तर, कुन–कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे थप निर्णय नभइसकेको र निरन्तर सरोकारवालाहरुसँग छलफलमै रहेको प्रशासनका अधिकारीहरुले बताएका छन् ।

यसैबीच काठमाडौं उपत्यकामा निषेधाज्ञाको पालना नगर्ने २६७ वटा गाडी होल्ड भएका छन् । आज बिहानै मात्र उपत्यकाका विभिन्न ठाउँमा २६७ वटा गाडीलाई होल्ड गरिएको हो । पास नभएका र अत्यावश्यक सामग्री बाहेकका गाडीलाई प्रहरीले होल्डमा राख्दै आएको छ । यसरी होल्डमा राखिएका गाडीलाई एक–दुई सय रुपैयाँ जरिवाना तिराएर बेलुका छोड्ने गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री