काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीले राखेको ६ बुँदे एकता प्रस्ताव नयाँ चालबाजी मात्र भएको बताएकी छिन् ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले शर्तसहित २०७५ जेठ ३ अर्थात् एकतापूर्वको अवस्थामा फर्कन राजी भएपछि खनाल–नेपाल समूहमा पक्ष–विपक्षमा धारणाहरु आउन थालेका छन् । योगेश भट्टराईसहितका नेताले प्रधानमन्त्रीको ६ बुँदे प्रस्तावले एकताको वातावरण बनाउने बताइरहेका बेला अष्टलक्ष्मी शाक्यले भने यो ओलीको नयाँ रणनीति बताएकी छन् ।
‘तपाईंहरू प्रष्ट हुनुस् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावले कुनै सहमतिको वातावरण बनाउँदैन’, उनले भनेकी छिन्, ‘अदालतमा मुद्दा विचाराधीन भइरहेका बेला त्यसलाई प्रभावित पार्ने गरी आएको छ । ओलीको प्रस्तावमा टेकेर कुनै समझदारी हुँदैन । हामी हाम्रो मान्यतामा अडिग छौं ।’
उनले हस्ताक्षर फिर्ता नहुने अडान पनि राखिन् । ‘प्रधानमन्त्री ओलीले आफ्नो कदम गल्ती थियो भनेर भनेका छैनन्’, उनले भनिन्, ‘आफ्ना गल्ती नदेख्ने, अरू मात्रै सच्चिनु पर्छ भनेर कहाँ सहमतिको वातावरण बन्छ । यो नयाँ चालबाजी हो ।’ ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन खनाल–नेपाल समूहले आज छलफल गर्दैछ । स्थायी कमिटी बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने भनिए पनि समय भने तय भइनसकेको शाक्यले जानकारी दिएकी छिन् ।




