काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदमा आज उपनिर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का नेकपा एमाले प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।
दाङको घोराही उपमहानगरपालिकास्थित कर्मचारी मिलन केन्द्रलाई निर्वाचन आयोगले मतदानस्थल तोकेको छ । उक्त मतदानस्थलमा प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड संक्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।
उक्त निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनकातर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उमेदवार हुन् ।
यस्तो छ अंक गणित
प्रदेशमा कूल मतदाता संख्या २९६ छ । प्रदेशसभा सदस्य ७९ जना र स्थानीय तहका प्रमुख उपप्रमुख २१७ जना छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १८ गणना हुन्छ । मतभार अनुरुप ७९ प्रदेशसभा सदस्यको ३ हजार ७९२ र स्थानीय तहतर्फका २१७ जनाको ३ हजार ९०६ गरी कुल ७ हजार ६९८ मत संख्या छ । जीतका लागि ३ हजार ८५० मत ल्याउनु पर्छ ।
मतदानमा भाग लिने प्रदेश सभा सदस्यमध्ये एमालेका ३८ छन् । विपक्षी गठबन्धनमा ४१ छन् अर्थात कांग्रेसका १९, माओवादीका १९ सभामुखसहित, जसपाका २ र राष्ट्रिय जनमोर्चाका एक जना छन् । स्थानीय तहका २१७ मध्ये ९४ एमालेका, कांग्रेसका ६३, माओवादी केन्द्रका ३६, जसपाका १३, जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना छन् ।
आफूहरुसँग स्पष्ट बहुमत रहेको दाबी कांग्रेससहितका विपक्षी गठबन्धनको छ भने एमालेले साना दल र स्वतन्त्रले आफूलाई साथ दिने भन्दै जीत सुनिश्चित रहेको दाबी गरेको छ । प्रदेश सभामा विपक्षी गठबन्धन बलियो देखिएको छ । स्थानीय तहतर्फ पनि ११८ मतदाता विपक्षी गठबन्धनकै छ । त्यसमाथि बाग्मतीमा जस्तै फ्लोर क्रस हुने निश्चित भएको दाबी विपक्षी गठबन्धनको छ ।
नेपाली काँग्रेसका संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्धिन खानले आफूहरुसँग स्पष्ट बहुमत रहेकाले जीत सुनिश्चित रहेको दावी गर्छन् । माओवादी केन्द्रका नेता सुदर्शन बरालको गठबन्धनमा प्रदेशसभातर्फ कूल १ हजार ९६८ र स्थानीय तहतर्फको १ हजार ९९८ गरी कूल ३ हजार ९८४ मत संख्या रहेको दाबी छ । त्यसका अलावा केही मत फ्लोर क्रसबाट आउने भन्दै पाण्डेयको जित सुनिश्चित भएको दाबी गरे ।
एमालेका खड्काको पक्षमा भने प्रदेशसभामा ३८ र स्थानीय तहमा ९४ प्रमुख उपप्रमुख छन् । त्यसबाहेक जसपाको ठाकुर पक्षका ६ जना जसपाको ठाकुर पक्षका, नयाँ शक्तिका एक जनाले पनि एमालेलाई सघाउने बताइएको छ । एमालेको पक्षमा कुल ३ हजार ६६० मतसंख्या हुन आउँछ । एमालेकै माधवकुमार नेपाल समूहका जनप्रतिनिधिले बागमतीमा जस्तै फ्लोर क्रस गरे यो संख्या अझ घट्ने छ ।




