काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गर्दैछ । हरेक वर्षको जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज बजेट सार्वजनिक गर्न लागेको हो ।
आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत बजेट ल्याउने सरकारको तयारी छ । प्रतिनिधिसभा विघटन भएर मध्यावधि घोषणा भएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो । बजेट मुख्यगरी कोरोना महामारीको नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहने बताइएको छ ।
यसका साथै आउँदो कात्तिक २६ र मंसिर ३ का लागि तोकिएको चुनाव खर्च, यस्तै आउँदो वैशाखमा हुने स्थानीय तहको चुनाव, वृद्ध भत्ता वृद्धि तथा राहत एवम् आर्थिक उत्थानका कार्यक्रम बजेटमा समेटिने छन् । आगामी आर्थिक वर्षको बजेट १६ खर्ब रुपैयाँ बराबरको हुने अनुमान छ ।
सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आयव्यय विवरण सार्वजनिक गर्न लागेको हो । संवैधानिक व्यवस्थाअनुसार सरकारले बजेट ल्याउने तयारी गर्दा विपक्षी दल र अर्थविदहरुले भने प्रतिनिधिसभा विघटन गरिएको समयमा पूर्ण बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।
११ बजे मन्त्रिपरिषद् बैठक
बजेट अध्यादेश सिफारिशका लागि मन्त्रिपरिषद बैठक बस्दैछ । बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्नेछ ।
राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । सरकारले दबाबका बीच अध्यादेशबाट ल्याइने कामचलाउभन्दा पनि नियमित खालकै जस्तो बजेट ल्याउन लागेको छ ।




