काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड-१९का कारण स्थगित स्नातक तहका परीक्षा साउनभित्र सञ्चालन गर्ने भएको छ । परीक्षा मोडेल र तालिकाबारे आन्तरिक तयारी थालेको त्रिविले आगामी साउन महिनाभित्रै परीक्षा सञ्चालन गर्ने भएको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने तयारी गरिएको हो । परीक्षा फाराम जेठ २० गतेसम्म भराउने तथा छुट भएका विद्यार्थीले अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाइएको उनले बताए । केही दिनभित्रै परीक्षाको कार्यतालिका नै प्रकाशन गरिने छ ।
हाल त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा दुईवटा समूह अध्ययनरत छन् । पुरानो प्रथम वर्षका विद्यार्थीले प्रथम वर्षमा अध्ययन गर्न सुरु गरेको १९ महिनाभन्दा बढी भइसकेको छ तर, परीक्षा हुन सकेको छैन । यस पटक स्नातक तहमा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी सहभागी हुने अनुमान छ । मौका परीक्षाको अवसरसमेत भएकाले गत वर्षको तुलनामा विद्यार्थी बढ्ने त्रिविको अनुमान गरिएको हो ।
गत वर्ष स्नातक तह पहिलो वर्षमा दुई लाख ३० हजार विद्यार्थी परीक्षामा सहभागी थिए । विद्यार्थीको परीक्षा फाराम सङ्कलन भएपछि मात्रै विद्यार्थीको अन्तिम टुङ्गो लाग्ने त्रिविको भनाई छ । परीक्षाको मोडेलका बारेमा अर्को सातासम्म विश्वविद्यालयले निर्णय गर्ने भएको छ । वार्षिक परीक्षा प्रणालीका विद्यार्थी भएका कारण अनलाइन माध्यमबाट परीक्षा लिने कुरा भने सम्भव नहुने परीक्षा नियन्त्रक जोशीले स्पष्ट पारे ।
विश्वविद्यालयले कोभिड संक्रमण बढेपछि सेमेस्टर प्रणाली अध्ययन गर्ने सबै विद्यार्थीको परीक्षा भने अनलाइन माध्यमबाट लिन थालेको छ ।




