सर्वोच्च जाँदै देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसद

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध रिट लिएर विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने भएको छ । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने सांसदहरु आज सर्वोच्च अदालत जाने भएका हुन् ।

१४९ जना सांसदको हस्ताक्षरसहित शुक्रबार देउवाले नयाँ प्रधानमन्त्रीमा दाबी गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले ‘दावी नपुग्ने देखिएको’ भन्दै दावी खारेज गरिदिएपछि न्यायिक निरुपणका लागि सर्वोच्च अदालत जाने तयारी भएको कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । यसका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादीको बाबुराम-उपेन्द्र पक्ष र जनमोर्चाका सांसदहरुलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ ।

नेता लेखकका अनुसार संसद भवनमा नागरिकतासहित उपस्थित भएर सबै सांसद नै हस्ताक्षरसहित सर्वोच्च जाने तयारी भएको हो । ‘वकिलहरूले आवश्यक कागजपत्र तयार गर्दै हुनुहुन्छ,’ उनले भने, ‘सकेसम्म आजै सर्वोच्च जान्छौं ।’ शनिबार बसेको विपक्षी ५ दलकाे बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री