जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने, मापदण्ड उल्लंघन गर्नेलाई कारबाही

काठमाडाैं ।  सरकारले जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने भएको छ । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको र शुक्रबार राजपत्रमा प्रकाशित भएकाे ‘कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुसार सरकारले जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने भएको हो ।

अध्यादेशको दफा ३ मा  ‘कोभिड-१९ को सङ्क्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा वा पर्न सक्ने देखिएमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा नेपालको कुनै स्थानमा लागू हुने गरी कोभिड-१९ स्वास्थ्य आपत्काल घोषणा गर्न सक्ने’ प्रावधान राखिएको छ ।

यसरी आपतकाल घोषणा गर्दा सरकारले स्वास्थ्य संस्थालाई सङ्क्रमितको निदान र उपचार गर्न लगाउने, आवश्यकता अनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्ने गराउने, जुनसुकै स्वास्थ्य संस्थामा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीलाई कोभिड-१९ को निदान र उपचारको काममा लगाउन सक्ने लगायत ब्यवस्था पनि गरिएको छ ।

यस्तो आपतकालमा सरकार, प्रदेश सरकार, स्थानीय तह वा प्रचलित कानून बमोजिम स्थापित शिक्षण संस्था, प्रतिष्ठान, बोर्ड, संस्थान, सरकारी स्वामित्वका कम्पनी वा अन्य सार्वजनिक संस्था वा निकायमा कार्यरत जनशक्ति, सवारी साधन, भवन, संरचना वा अन्य भौतिक साधन कोभिड-१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारमा लगाउनसक्ने प्रावधान पनि अध्यादेशमा उल्लेख गरिएको छ ।

यसका साथै अब जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई जरिवाना लिन सकिने भएको छ । कुनै व्यक्ति मास्क नलगाई हिँडेको पाइएमा सुरक्षाकर्मीले हरेक पटकको एक सय रुपैयाँ जरिवाना लिन सक्ने अध्यादेशमा उल्लेख छ । यसैगरि आवतजावत गर्न रोक लगाइएका ठाउँमा हिँडडुल गरे पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना लिन वा ६ महिनासम्म कैद गर्न सकिने व्यवस्था नयाँ कानूनमा गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस