काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मतको सामना गर्नैपर्ने बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले एकैचोटी संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि समय सीमा तोकिसको अवस्थामा पूर्वमन्त्री समेत रहेका नेता रावलले धारा ७६ (४) ऐच्छिक नभई बाध्यकारी भएको बताएका हुन् । जसमा धारा ७६ (३) बमोजिम बनेको प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उल्लेख छ । अहिले ओली सोही धाराअनुसार बनेका प्रधानमन्त्री हुन् ।
‘नेपालको संविधानको धारा ७६ (४) ऐच्छिक होइन, बाध्यकारी हो । यसलाई छल्न मिल्दैन,’ शुक्रबार बिहान सामाजिक सञ्जालमा रावलले लेखेका छन् । यस्तै आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको मागबमोजिम नागरिक विधेयक संशोधन गर्न तयार भएको भन्ने खबर सार्वजनिक हुन थालेपछि नेता रावलले यसप्रति पनि सचेत गराएका छन् ।
उनले भनेका छन्, ‘नागरिकता देशको अस्मिता र अस्तित्वसँग गाँसिएको विषय हो । यसलाई कुर्सीको खेलसँग कदापि जोड्नु हुन्न । नगरिकताबारे संविधान सभामा धेरै बहस भई संविधानमा लेखिएको भन्दा फरक किसिमले जानु नेपाल र नेपालीको हितविरूद्ध हुन्छ ।’




