सुर्खेत । मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजनासहित एक दशक अगाडिदेखि सुर्खेतमा संभाव्यता अध्ययन थालिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलका लागि सुर्खेतका उत्तरगंगा, रामघाट तथा मदानेचौर गरी तीन ठाउँमा सम्भाव्यता अध्ययन गरिएको थियो । हवाई तथा स्थलगत अनुगमनका क्रममा न्याउलीचौर पुग्नेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीले पिछडिएको साथै पर्यटनको अथाह सम्भावना भएको कर्णाली प्रदेशको विमानस्थल निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराए । उनले डिपिआर तयार गरेर अब चाँडै शिलान्यास पनि गर्ने वताए ।
पूर्व संस्कृति तथा पर्यटनमन्त्री यामलाल कँडेल र जीवनबहादुर शाहीले अन्तर्राष्ट्रियस्तरको नभई अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल निर्माण गर्न आग्रह समेत गरे। प्राविधिक दृष्टिकोणले उपयुक्त ठाउँलाई छनोट गर्न सल्लाह दिंदै दुवै मन्त्रीले सुर्खेतमा विमानको रात्रिबास गर्ने प्रबन्ध मिलाउन पर्यटन मन्त्रीलाई अनुरोध समेत गरेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम प्राविधिक दृष्टिकोणले सुर्खेत उपत्यकाभित्र विमानस्थल बन्न नसक्ने अवस्था भएपछि उपत्यका बाहिर हेर्नुपरेको जानकारी गराए । सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार २५० छ भने अहिले बनाउन थालिएको विमानस्थलको धावनमार्ग दुई हजार ६५० मिटरसम्मको हुनेछ। यसरी बनेकाे विमानस्थलमा ठूला विमान उडाउन सकिन्छ ।
सुर्खेतको भेरीगंगा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने साे अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज–टिएइसी–ए–नट जेभीका प्राविधिक सुरज कोइरालाले सात अर्ब ४१ करोड लागत लाग्ने जानकारी दिएका छन् ।




