काठमाडौं । सङ्घीय संसद् सचिवालयले कोभिड-१९ संक्रमणलाई हेक्का राख्दै यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ ।
विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक र अर्को सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्ने व्यवस्था मिलाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशनका क्रममा बैठकमा अपनाउनुपर्ने स्वास्थ्य सावधानीबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ सेवा विभाग र नेपाल चिकित्सक संघका पदाधिकारीसगँको परामर्श र सुझावका आधारमा सिट व्यवस्थापन गरिएको प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
अघिल्लो अधिवेशनमा भने बीचमा एउटा कुर्सी खाली राखेर सदस्यलाई बस्ने व्यवस्था मिलाइएको थियो । सिट व्यवस्थापन गर्ने क्रममा दर्शकदीर्घालाई पनि बैठक कक्षका रुपमै प्रयोग गरिने छ ।
यसैबीच प्रतिनिधिसभा अधिवेशनमा कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड कायम गर्ने सिलसिलामा संसद् सचिवालयले सञ्चालन गरेको पिसिआर ६०९ जनाले परीक्षण गरेको जानकारी दिइएको छ । सभामुखसहित १२८ सांसद तथा सचिवालयका कर्मचारी, पत्रकार, सुरक्षाकर्मी र मर्यादापालक समेत गरी ४८१ को स्वाब संकलन गरिएको बताइएको छ । पिसिआर परीक्षण बिहीबार पनि जारी रहने छ ।




