काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञा जारी भएका जिल्लाका नागरिकलाई अति आवश्यक नपरी घर बाहिर ननिस्कन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी निषेध आदेश जारी भएका स्थानमा अत्यावश्यक बाहेकका आवागमनमा रोक लगाइएकाले निषेधाज्ञा अवधिभर अति जरुरी नपरी घरबाट ननिस्कन तथा यात्रा नगर्न सम्बन्धित सबैमा अपिल गरेको हो ।
मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘कोभिड–१९ को दोस्रो लहरको संक्रमण तीव्र फैलिरहेका कारण उत्पन्न यस विषम परिस्थितिको सामना गर्न सरकारका प्रयासका अतिरिक्त अन्य सबै सरोकारवालाको सहयोग र सहकार्य पनि त्यत्तिकै जरुरी हुने भएकाले सरकारद्वारा जारी निर्देशन एवं स्वास्थ्य मापदण्ड तथा प्रमुख जिल्ला अधिकारी निषेध आदेशको पूर्ण रूपमा पालना संक्रमण फैलिन नदिन सरकारका तर्फबाट गरिएका प्रयासमा सम्बद्ध सबै पक्षबाट पूर्ण सहयोग हुनेछ भन्ने अपेक्षासहित सबैका जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ ।’
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लगाएको छ । सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधाज्ञाको आदेश जारी गरेको थियो । उक्त आदेश २० गतेसम्म जारी रहने छ ।
सुर्खेत जिल्लाले वैशाख १४ गतेदेखि २१ गतेसम्म निषेधाज्ञा लगाएको छ । काठमाडौ, भक्तपुर र ललितपुरमा बिहीबारदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा छ ।
पाल्पा र चितवनमा हिजो राति १२ बजेदेखि निशेधाज्ञा जारी गरिएको छ भने सल्यानमा १९ गते बिहान ६ बजेदेखि आदेश कार्यान्वयनमा जाँदैछ । अन्य कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, रुपन्देही, सल्यान र सुनसरी जिल्लामा भने बिहीबार विहानदेखि निषेधाज्ञा लागू भएको छ । कालिकोटमा १० गतेबाट, बाग्लुङमा ७ गतेबाट र बर्दियामा १३ गतेबाट निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ ।
बाग्लुङको बाग्लुङ नगरपालिका १२, १३, १४ वडा तथा साविक अमलाचौर, पैयूँपाटा र नारायणस्थान क्षेत्रमा लागू गरिएको छ । कालिकोटमा खाँडाचक्र नगरपालिका ११ को रेङ्गिलमा लागू गरिएको छ । गृहमन्त्रालय आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन । उपत्यकामा खाद्य सामग्री पसल, ग्रोसरी कक्ष बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म चल्न पाइने छ ।




