काठमाडौं । बाँकेमा कोभिड १९ संक्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ । पछिल्लोपटक बिहान कोहलपुर नगरपालिका-१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेजबहादुर वलीका अनुसार बितेको २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत ८ महिला र ३ पुरुष गरी ८ जनाको मृत्यु भएको छ । बाँकेमा आजसम्म संक्रमणका कारण बाँकेका ८० र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा आएका १०० गरी १८० जनाको मृत्यु भएको हो ।
हालसम्म मृत्यु हुनेमा बाँकेका ३३ महिला र ४७ पुरुष रहेका छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका २५ महिला र ७५ पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्कले देखाएको छ । जिल्लामा हाल दुई हजार १२८ सक्रिय सङ्क्रमितमध्ये ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
४६ सिकिस्त छन् भने १९८ को अवस्था सामान्य छ । तीमध्ये ८३ महिला र ९८ पुरुष गरी १८१ जनाको भेरी अस्पतालको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ । यसैगरी २४ महिला र ३१ पुरुष गरी ५५ जनाको शिक्षण अस्पताल कोहलपुर, ६ महिला ३३ पुरुष गरी ३९ जनाको ह्वाइटहाउस आइसोलेसन र ९ पुरुषको कोहलपुर नगरपालिकाको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ ।
बाँकेमा १ हजार ९८० होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति वलीले जानकारी दिए । उनका अनुसार बाहिरी जिल्लाबाट आएका १३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।




