पर्सात । पर्सा र कालिकोटमा आगलागी हुँदा ११ वटा घर जलेर नष्ट भएको छ । आगलागीमा परेर एक किशोरी घाइते भएकी छन् ।
पर्साको ठोरी गाउँपालिका–२ इच्छानगरमा आगलागी हुँदा स्थानीय पहलमान प्रजा, कृष्णबहादुर नगरकोटी र रञ्जित नगरकोटीको घर तथा गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए ।
आगलागीमा परेर १५ वर्षीया शर्मिला नगरकोटी घाइते भएकी छन् । उनी ७२ वर्षीया हजुरआमाको उद्धार गर्ने क्रममा घाइते भएकी प्रहरीले जनाएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट करिब १५ लाख मूल्य बराबरको क्षति भएको छ ।
त्यसैगरी कालीकोटको पचाल झरना गाउँपालिका– ८ को खोली बजारमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । स्थानीय दुर्गा सार्की, वीरमाने सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृत सार्कीको घर आगलागीमा परेर नष्ट भएको कालिकोटका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । पचाल गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालका अनुसार बालबालिकाले खेल्ने क्रममा आगो लगाएको अनुमान गरिएको छ ।




