काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण दिनदिनै बढेपछि नेपालमा फेरि जोखिम देखिएको छ । कोरोना संक्रमण बढ्न सक्ने अवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न आग्रह गरेका छन् । कोरोना रोकथाम गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सामाजिक र भौतिक दूरी कायम गर्न, अनिवार्य मास्क प्रयोग गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
नेपालमा केही महिनादेखि घट्दो क्रममा रहेको संक्रमण दर फेरि उकालिन थालेको छ । संक्रमित संख्या झिनो रूपमै बढिरहेको भए पनि यसप्रति सबै सचेत रहनुपर्छ । समयमै सावधानी अपनाइएन भने संक्रमणको अर्को लहर सुरु नहोला भन्न सकिन्न ।
आम नागरिकदेखि सबै तहले कोभिड-१९ को दोस्रो लहर फैलिन नदिन स्वास्थ्य मापदण्डहरूको अनिवार्य पालना गर्नु/गराउनु अत्यावश्यक भएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईसीडीसी)का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला बताउँछन् । अहिल्यै ध्यान नदिए पुनः संक्रमण फैलिने र दोस्रो लहर सुरु हुने खतरा रहेको उनको बुझाइ छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएका कारण छिमेकी मुलुकसहित अन्य देश झैं नेपालमा पनि संक्रमण दर पुनः उच्च हुनसक्ने उनको चेतावनी छ । ‘भारतमा संक्रमण बढेसँगै हामी दोस्रो लहरको उच्च जोखिममा परिसकेका छौं,’ वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘यो अवस्थामा सरकारले आवश्यक कदम चाल्नु गर्नुपर्ने देखिन्छ ।’




