काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र रक्षाका लागि कांग्रेस नेतृत्व आवश्यक भएको बताएका छन् । बागलुङमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले राष्ट्रियता र लोकतन्त्रमाथिको विकृति अन्त्य गर्न कांग्रेस नेतृत्व आवश्यक भएको बताएका हुन् ।
देश डुब्न लाग्दा कम्युनिस्टले केही गरेनन् भनेर बस्नुभन्दा पनि कांग्रेसले नेतृत्व लिनु पर्ने पौडेलले बताए । ‘लामो समयसम्म कांग्रेस प्रतिपक्षमै बस्नुपर्छ भनेर सभापतिलाई रोकेको थिएँ,’ उनले भने, ‘हिजोको बैठकमा जसरी पनि ओली हटाउनुपर्छ भनेर म्यान्डेट दिएका छौँ । अब विकृतिविरुद्ध कांग्रेसले टुलुटुलु हेरेर बस्न मिल्दैन ।’
देशभित्रका प्रतिक्रान्तिकारी र अन्तर्राष्ट्रिय षड्यन्त्रबाट ओलीलाई टिकाउने खेल भएपछि ओलीमुक्त सरकार चाहिएको उनको टिप्पणी थियो । ‘अब दायाँबाँया सोच्ने कुरा छैन काँग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र मिलेर नै केपीलाई हटाउनुपर्छ,’ उनले भने । काँग्रेसले सत्ताको आकंक्षा गरेको भन्दा पनि परिस्थितिले जिम्मेवारीबाट भाग्न नहुने अवस्था सिर्जना भइसकेको पौडेलको भनाई थियो ।




