काठमाडौं । साविकको माओवादी केन्द्रको पहिलो स्थायी कमिटी बैठक पेरिसडाँडामा बसे लगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएका छन् । पेरिसडाँडामा मंगलबार दिउँसो बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेन । तर, ओलीलाई विस्थापित गर्ने प्रयासलाई भने माओवादी केन्द्रले अघि बढाउने निर्णय लियो। सरकारसहित अन्य मुद्दामा साझा एजेण्डा बनाउन माओवादी केन्द्रको स्थायी कमिटीले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग संवाद थाल्ने निर्णय गरेको थियो ।
नेकपा एमालेतिर लागेको रामबहादुर थापा बादल समूह सहभागी नभइ बसेको स्थायी कमिटी लगत्तै प्रचण्ड प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगे । प्रतिनिधिसभा पुनःस्थापित भएपछि फागुन १२ मा उनी नेकपा अध्यक्षको हैसियतमा बूढानीलकण्ठ पुगेका थिए । तर मंगलबार अपराह्न उनी नेकपा माओवादी केन्द्रको अध्यक्षका हैसियत देउवा निवास पुगेर सहकार्य प्रस्ताव गरे । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीविरुद्ध संयुक्त मोर्चा बनाउन अस्वीकार गरेका उनै देउवासँग गएर प्रचण्डले संयुक्त सरकारको प्रस्ताव गरेको स्रोतले बताएको छ ।
देउवानिकट स्रोतका अनुसार करिब १८ मिनेट लामो संवादका क्रममा प्रचण्डले ओलीलाई विस्थापित गरेर माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर सरकार बनाउन प्रस्ताव गरेका थिए । प्रचण्डले ओली प्रवृत्तिले नेपाली राजनीति नराम्ररी प्रभावित भएको भन्दै उनलाई विस्थापित गर्नै पर्ने मत राल्दै देउवालाई नेतृत्वको प्रस्ताव राखे तर, देउवाको उही रेडिमेड जवाफ, ‘तपाईंका कुरा सुनेँ तर म यसबारेमा पहिले पार्टीमा छलफल गर्नेछु ।’ प्रचण्डले ओलीको नेतृत्वमा देश झन् झन् जटिलतामा फस्दै गएको तर्क गरेका थिए । ‘ओली नेतृत्वमा रहँदा देश झन् जटिलतातर्फ गयो, कुनै कुराको पनि निकास दिन सकेन’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘देउवाजीले पनि यी कुरालाई सकारात्मक लिनु भएको छ । केपी ओली प्रवृत्तिले अझै संकट बढाउने कुरामा दुवै नेता सहमत भएका छन् ।’
बूढानीलकण्ठमा देउवालाई भेटेका प्रचण्ड त्यसपछि जनयुद्धका आफ्ना सहकर्मी एवम् जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट्न उनको निवास टोखा पुगे । त्यहाँ पुगेर पनि उनले ओलीलाई विस्थापित गर्दै जसपा, माओवादी केन्द्र र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने कुरा राखेका स्रोत बताउँछ । जसपाको पनि प्रतिनिधित्व हुने गरी सरकार बनाऊँ’, प्रचण्डले बाबुरामसँग भने, ‘तीन दल मिलेर सरकार बनाउँदा उचित पनि हुन्छ ।’
जवाफमा बाबुरामले कांग्रेस, माओवादी केन्द्र र जसपाबीच समीकरणको सम्भावना रहेको बताए । ‘अब वैधानिक हिसाबले पनि नयाँ सरकार स्वाभाविक बन्छ । ओली रहेसम्म राज्यसत्ताको दुरुपयोग गरेर वितण्डा मच्चाइरहने खतरा रहन्छ,’ उनले भने, ‘उनलाई बिदा गर्नेमा छिटोभन्दा छिटो एउटा समझदारी गरेर जानुपर्छ । तर, अहिले नै समझदारी बनिसकेको छैन । तर, बन्ने सम्भावना चाहिँ छ ।’



