समावेशी शिक्षा नीति तथा स्थानीय पाठ्यक्रमबारे बृहद बहस

सर्लाही। सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिकामा समावेशी शिक्षा, नीति तथा स्थानीय पाठ्यक्रम बारे बृहद बहस सम्पन्न भएको छ ।

राष्ट्रिय गानबाट शुरुवात भएको उक्त बहसमा नगर प्रमुख लगाएत उप–नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, नगरपालिका शिक्षा अधिकृत, प्रशासकीय अधिकृत, नगर शिक्षा समिति संयोजक, स्वास्थ्य शाखा प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सेवा क्षेत्रभित्रका विद्यालयका प्रधानाध्यापक, शिक्षक, एवं छात्रछात्राहरुबीच विद्यालय सुशासन तथा व्यवस्थापन, बालअधिकार तथा संरक्षण, समावेशी शिक्षा, पारदर्शिता बारेमा गहिरो सवाल जवाफ भएको थियो ।

बहसमा सहभागी एक छात्राले “सुरक्षित छात्रामैत्री शौचालयको अभावको कारण छात्राहरु विद्यालयमा आउँदैनन् । म कक्षा छदेखि यसै विद्यालयमा अध्ययन गर्दै आएको छु । विद्यालयमा नगरपालिकाबाट स्यानेटरी प्याड आएको छ भन्ने सुनेको तर हालसम्म नपाएको” गुनासो व्यक्त गरिन ।

सहभागी अधिकांश छात्रछात्राहरुले विद्यालयमा सुरक्षित समावेशी शौचालय नभएको, पिउने पानीको असुविधा, अपाङ्गतामैत्री कक्षा कोठा नभएको, सानो कक्षा कोठामा अधिक विद्यार्थी, विद्यार्थी संख्याको आधारमा सेक्सन छुट्याउनु पर्ने, विद्यालयको भौतिक संरचना बालमैत्री एवं अपाङ्गतामैत्री नभएको, विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी नभएको, उपयुक्त खेल मैदान, शिक्षण सामग्रीहरुको प्रयोग, कक्षा कोठामा शिक्षकहरु पूरा समय नबस्ने, विद्यालयका छात्रछात्राहरुलाई बाहिरका व्यक्तिहरु आएर हातपात गर्ने गरेको तर विद्यालय प्रशासनले ध्यान नदिएको, गुनासो पेटिका नभएको, बाल विवाह रोक्नु पर्ने लगाएतका सवालहरु गरेका थिए ।

बहस कार्यक्रमको सञ्चालन नागेन्द्र प्रसाद शाहले गर्नु भएको थियो भने सहजीकरण नेपाल पत्रकार महासंघ, सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरले गर्नुभएको थियो ।

सहजकर्ता एवं बहसमा सहभागी छात्रछात्राहरुको सवालमा नगर प्रमुख, उप–नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगरपालिका शिक्षा अधिकृत, प्रशासकीय अधिकृत, नगर शिक्षा समिति संयोजक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापकहरुले नेपाल सरकारबाट जारी भएका नियमकानून बमोजिम तथा स्थानीय सरकारको अधिकार एवं कार्य क्षेत्रसँग सम्बन्धित समस्याहरुको समाधान यथासिघ्र गरिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अष्ट्रेलियन एडको आर्थिक सहयोगमा वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल, ह्याण्डीक्याप ईन्टरनेशनल, विश्व शिक्षा नेपाल, र राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र, मलंगवाको संयुक्त साझेदारीमा राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र, मलङ्गवाद्वारा कार्यान्वयन हुँदै आई रहेको सिकाइ परियोजना अन्तर्गत समावेशी शिक्षा नीति, नीति कार्यान्वयन निर्देशिका एवं स्थानीय पाठ्क्रम पुस्तिकाको विमोचन पछि शुरु भएको बहस कार्यक्रमको अध्यक्षता नगर प्रमुख सियाराम रायले गर्नुभएको थियो ।

बहसको अन्त्यमा समावेशी शिक्षा, नीति तथा स्थानीय पाठ्यक्रम लेखन कार्यमा संलग्न नगरपालिकाका कर्मचारी एवं शिक्षकहरुलाई प्रशसा(पत्र प्रदान गरिएको थियो ।

बहस कार्यक्रममा उपस्थित महानुभावहरुलाई नगर शिक्षा समितिका संयोजक महेन्द्र रायले समावेशी शिक्षा, नीति तथा स्थानीय पाठ्यक्रमबारेमा संक्षिप्त टिप्पणी सहित स्वागत गर्नुभएको थियो । बहसको प्रत्यक्ष प्रशारण रेडियो मधेशको अनलाईन तथा फेशबुकबाट भएको थियो। कार्यक्रम केश्वर गरिव जनता माध्यमिक विध्यालय, हरिपुर्वामा भएको हो ।

न्यूज दैनिकको लागि सर्लाहीबाट,
हिरालाल श्रेष्ठ,

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री