काठमाडाैँ । रसुवाको कालिका गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा प्रहरी हवल्दार गम्भीर घाइते भएका छन् ।
चितवन घर भई कालिका गाउँपालिका १ स्थित अस्थायी प्रहरीचौकीमा कार्यरत २९ वर्षीय प्रहरी जवान इन्द्रप्रसाद अर्यालको दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते अर्यालको त्रिशुली अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार शुक्रबार राति कालिका गाउँपालिका १ स्थित राम्चेमा गस्ती गरी ग्राङतर्फ फर्कने क्रममा प्रदेश ३ ००१ प ३३७५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन । मोटरसाइकल सडकबाट २० मिटर तल खसेको अवस्थामा फेला परेको छ ।
सोही चौकीमा कार्यरत नुवाकोट घर भएका प्रहरी हवलदार ३५ वर्षीय राजेन्द्र लामा दुर्घटनामा गम्भीर घाइने भएका छन् । उनलाई त्रिशूली अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगन्ज ल्याइको प्रहरीले जनाएको छ ।




