आज २६ औं‌ जनयुद्ध दिवस, एक छैन पूर्व माओवादी

काठमाडौँ । आज २६ औं जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा तत्कालीन माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएको हो ।

नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको माओवादीले २०६३ मंसिर ५ गते हतियार बिसाएको थियो । रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध सुरु भएको थियो ।

१० वर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुवै पक्षबाट १७ हजारभन्दा धेरै व्यक्ति मारिएका थिए । हजारौं व्यक्ति घाइते र अङ्गभङ्ग भएका थिए । विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको झण्डै १५ वर्ष बितिसक्दा पनि नेताहरुले गरेका बाचा पूरा नगरेको भन्दै आमनागरिक र कार्यकर्ता निराश बनेका छन् ।

अहिलेसम्म आइपुग्दा जनयुद्ध हाँकेको माओवादी पार्टी भने छिन्नभिन्न अवस्थामा छ । प्रचण्ड नेतृत्वमा रहेको माओवादी केन्द्र र साविक नेकपा एमालेबीच एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । तर संसद विघटनपछि नेकपा पनि दुई समूहमा विभाजित छ ।

जनयुद्ध नेतृत्व गरेका अर्का नेता डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी हुँदै जनता समाजवादी पार्टीको अध्यक्ष बनेका छन् भने मोहन वैद्य ‘किरण’ले नेकपा क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ले नेपाल कम्युनिष्ट पार्टी खोलेका छन्‌ ।

यता, नेकपाको प्रचण्ड-नेपाल समूहले आज दिवस भव्यरुपमा बनाउँदैछ । सहिद स्मृति तथा सम्मान कार्यक्रमको ब्यानरमा दिवस भव्यरुपमा मनाउन सबै तहमा आग्रह गरिएको छ ।

बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा सहिदहरुप्रति सम्मान कार्यक्रम राखिएको छ । ओली समूहले भने कार्यक्रम आयोजना गरेको कुनै जानकारी छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री