चीनले पनि अनुदानमा दिने भयो ३ लाख डोज खाेप

काठमाडौँ । उत्तरी छिमेकी चीनले पनि आफ्नो देशमा उत्पादन भएको काेभिड-१९ विरूद्धको खोप नेपाललाई अनुदानमा दिने भएको छ । चीनले ३ लाख डोज कोरोना भ्याक्सिन छिटै नेपाललाई अनुदानमा दिने निर्णय गरेको हाे ।

नेपालस्थित चिनियाँ दूतावासले प्रेस नोट जारी गर्दै यसको जानकारी दिएको हो । ‘नेपाल र चीन असल छिमेकी, असल मित्रहरू तथा असल साझेदार हुन् । भूकम्प वा महामारीजस्ता चुनौतीहरूको सामना गर्नुपर्दा दुवैले एक–अर्कालाई दुःखसुखमा सहयोग गरेका छन्,’ प्रेस नोटमा भनिएको छ ।

चीनले उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो  । दुई चरणमा लगाएपछि कोभिडविरुद्ध यो खोपले करिब ७९ दशमलव ३४ प्रतिशत प्रभावकारिता देखाएको चिनियाँ दूतावासले जनाएको छ । चीनले दिएका खोप करिब एक लाख ५० हजार नागरिकलाई लगाउन पुग्नेछ ।

चीन र अन्य मुलुकहरूमा खोपको माग व्यापक बढिरहेका वेला चीनले नेपाललाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने निर्णय गरेको पनि दूतावासले उल्लेख गरेको छ । ‘खोप उपलब्ध गराएर चीनले नेपाल–चीन मित्रतालाई ठूलो महत्व दिएको छ,’ प्रेस नोटमा भनिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री