काठमाडौं । नबिल बैंकले काठमाडौं कुलेश्वरको फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् ।
अब फलफूल बजारमा जाने उपभोक्ताले खरिद गरेको फलफूलको मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै रकम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त रहेको बैंकले जनाएको छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका पनि बैंकले जनाएको छ ।
कार्यक्रममा गभर्नर अधिकारीले क्यूआर कोड भुक्तानी सेवा एक नवीनभुक्तानी प्रणाली हो जुनविशेष गरी कोभिडको महामारीको कारणले बढेको छ, पछिल्लो पटक यस्तो डिजिटल बैंकिङ आवश्यक रहेको बताए ।
यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि हामीले नेपालमा भुक्तानी प्रणालीमा नयाँपन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानी तर्फ परिवर्तन भइरहेको पाइएको बताए ।




