समावेशी शिक्षा कार्यसमूहबाट संयुक्त अनुगमन

सर्लाही । जिल्लाको चार स्थानीय निकाय ब्रह्मपुरी, चन्द्रनगर, र पर्सा गाँउपालिका र हरिपुर्वा नगरपालिकाभित्रका चार विद्यालय र एक मदरशाको संयुक्त अनुगमन भएको छ । अष्ट्रेलिएन एडको आर्थिक सहयोग तथा वर्न्ड भिजन ईन्टरनेशनल, ह्याण्डीक्याप ईन्टरनेशनल, र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित सिकाइ परियोजना कार्यान्वयन भई रहेका विद्यालयहरुमध्ये छनौट गरिएका विद्यालयहरुको अनुगमन गरिएको हो ।

मंगलबार ब्रह्मपुरी गाउँपालिकाको वडा नं. ६, नोकैल्वास्थित श्री मंगलस्थान उत्पीडित उत्थान आधारभूत विद्यालय र मदरसा इस्मालिया तथा चन्द्रनगर गाउँपालिका वडा नं. ६ कामतस्थित मरिचमानसिंह जनता माध्यमिक विद्यालयको अनुगमन भएको थियो । त्यसैगरि, बुधबार पर्सा गाउँपालिका वडा नं. १ मा रहेको आधारभूत विद्यालय, शितलपुर र हरिपुर्वा नगरपालिका वडा नं. ३, धनकौलको रामदेव आधारभूत विद्यालयको अनुगमन भएको हो ।

समावेशी शिक्षा कार्यसमूहका संयोजक एवं शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख रामआधार कुशवाहको अगुवाई र सदस्यहरु गाँउपालिका तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा प्रशासन अधिकृत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक अधिकृत, महिला विकास निरीक्षक, प्राविधिक सहायक एवं नेपाल पत्रकार महासंघका सभापतिको सहभागितामा मंगलबार र बुधबार अनुगमन भएको हो । अनुगमनपछि प्रत्येक विद्यालयमा प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, वडा सदस्य एवं उपस्थित अभिभावकहरुबिच अन्तरक्रिया आयोजना गरिएको थियो ।

अन्तरक्रियामा आफ्नो भनाई राख्ने क्रममा शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख रामआधारसिं कुशवाहले “परियोजनाको सहयोगबाट निरास हुने ठाँउ छैन, तर सुधार गर्नुपर्ने ठाउँ धेरै छ।” तालिम प्राप्त शिक्षकहरुको ध्यानाकर्षण गराउनुहुँदै “शिक्षकहरुलाई तालिमको व्यवस्था भएको छ । तालिम त लिनुभयो । तालिमपछि शैक्षिक सामग्रीहरु पनि उपलब्ध गराएको छ । तर सामग्रीहरुको उचित प्रयोग भएको पाईएन। शैक्षिक सामग्रीहरुको प्रयोग गरिदिनुहुन्छ भन्ने आशा” व्यक्त गर्नुभयो ।
आधारभूत विद्यालय, शितलपुरको अनुगमनबाट पर्सा गाउँपालिकाका शिक्षा संयोजक प्रमोद मण्डलले “दुईतीन वर्ष पहिला ५०—६० जना विद्यार्थी जुटाउन गाह्रो थियो । बालबालिकाहरुलाई बस्नको लागि कार्पेट र होचो टेबल उपलब्ध गराएर कक्षा कोठाको बसाई व्यवस्थापन सुधारिएको रहेछ । जसले गर्दा अहिले बालबालिकामा विद्यालयप्रति आकर्षण बढेको छ र त २३० जनाको भर्ना भएको पाइयो । यो धेरै ठूलो उपलब्धि हो, सराहनीय छ । मुख्य कुरा विद्यालयमा विद्यार्थीहरु झिकाउनुभयो, अब टिकाइ राख्न समस्या छ । त्यसतर्फ ध्यान दिनुपर्ने” कुरामा जोड दिनुभयो । वडा नं. ३ का सदस्य राजकुमार यादवले “संस्थाहरुबाट जुन कार्यक्रम चलेको छ, त्यसबाट हाम्रो समाज धेरै खुशी भएका छौं । पहिला ४० जना मात्र बच्चाहरु थिए । अहिले १६० जना भएका छन् ।”

उहाँको भनाईलाई समर्थन दिदैं प्रधानाध्यापक रामदरेश महतोले “कक्षा कोठाको व्यवस्थापनले अहिले बालबालिकाहरु आफैं आउँछन् । बोलाईरहनु पर्दैन। पहिला बोलाउन जाँदा पनि आउन मान्दैनथिए। भागेर जान्थे । अहिले अभिभावकहरु पनि खुशी छन् । बालबालिकाहरुलाई नियमित पठाउँछन् ।” उनले निर्माण कार्य सम्पन्न भई सकेको अपाङ्गतामैत्री विद्यालय तथा शौचालय जाने र्याम्पको संरचनामा भएको त्रुटीलाई गाउँपालिकासँग समन्वय गरी तुरुन्त सच्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अनुगमनमा सहभागीहरुबाट स्थानीय निकाय तथा परियोजना कार्यान्वयन गर्ने साझेदार संस्थाहरुलाई सल्लाहसुझाव माग गरिएको थियो । गाउँपालिका र नगरपालिकालाई “निरन्तर रुपमा कडाइका साथ विद्यालय अनुगमन गर्नुपर्ने, विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक व्यवस्थापन, विद्यालयको भौतिक स्तर सुदृढीकरणको लागि पर्याप्त बजेट विनियोजन, मदरसमा बालबालिकाहरुको उमेरस्तर बमोजिम कक्षा व्यवस्थापन, बालविकास र कक्षा एकदेखि तीनसम्म कक्षा शिक्षण हुनुपर्ने, विद्यालयमा दिवा खाजाको व्यवस्था हुनुपर्ने” सुझाव दिएका छन् ।

त्यसैगरी, साझेदार संस्थाहरुलाई “सामग्रीहरु उपलब्ध गराएपछि प्रयोग भएनभएको निरन्तर अनुगमन गर्नुपर्ने, अभिभावकमुखी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने, अल्पकालीन रुपमा शिक्षक जनशक्तिको सहयोग, बालबालिकालाई स्वच्छ पिउने पानीको लागि फिल्टरको व्यवस्था, सहयोग सामग्रीहरु विद्यार्थी सङ्ख्यको आधारमा पर्याप्त मात्रामा उपलब्ध गर्नुपर्ने, भौतिक पूर्वाधार सुधारमा लगानी गर्नुपर्ने, विद्यालयलाई उपलब्ध गराएको सहयोग सामग्रीहरु, क्रियाकलापहरु तथा लागत खर्चसमेत उल्लेख गरि पारदर्शी गराउनु पर्ने, बाँकी स्थानीय निकायमा कार्यक्षेत्र विस्तार गर्नुपर्ने” लगायतका सुझाव दिएका छन् ।

अनुगमनक्रममा टोलीलाई सिकाइ परियोजनाका अपाङ्गता संयोजक तुलाराम धमलाले अन्तरक्रिया गर्न सहजीकरण गर्नुभएको थियो भने अनुगमन, मूल्याङ्कन, जवाफदेहिता र सिकाइ संयोजक आदित्य पटेलले सिकाइ परियोजनाबाट विद्यालयमा उपलब्ध गराइएको सहयोगहरुको बारेमा सक्षिप्त जानकारी गराउनु भएको थियो । अनुगमन कार्यक्रमको अन्त्यमा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रको सचिव एवम् अनुगमन टोलीका सदस्य लिला पनेरुबाट अनुगमन कार्यमा संलग्न सम्पूर्ण सदस्यहरूलाई अनुगमन कार्य सफल पार्न सहयोग गर्नुभएकोमा धन्यवाद दिनुभएको थियो ।

न्यूज दैनिकको लागि सर्लाहीबाट
हिरालाल श्रेष्ठ

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री