पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले पर्यटनका बारेमा बुझेर व्यवसायीका सुझाव र समस्यालाई समाधान गर्न पहल गर्ने बताएका हुन् ।
मन्त्री ढकालले कोभिड-१९ का कारण हरेक क्षेत्र प्रभावित भएको र राज्यले नागरिकको ज्यान बचाउनतिर ध्यानकेन्द्रित गर्दा अन्य क्षेत्र ओझेलमा पर्न गएको बताए । ‘‘धेरै क्षेत्रमा समस्या छ । तर, राज्यले नागरिकको ज्यान जोगाउने कुरालाई प्राथमिकतामा राख्दा अन्यत्र केही नगरेजस्तो भएको छ । अब सरकारले अन्यत्र पनि चासो दिएर काम गर्नेछ,’’ उनले भने, ‘‘रत्नमन्दिर खुला हुन भइरहेको ढिलासुस्तीका विषयमा पनि धेरै कुरा उठेका छन् । रत्न मन्दिर खुला हुन कहाँनेर गाँठो परेको हो, त्यो फुकाउने कोसिस गर्नेछु ।’’
उनले पर्यटन क्षेत्रका समस्यालाई समाधान गर्न सरोकारवाला र विज्ञको राय-सुझावसहित आएका एकमत आवाजको नेतृत्व गरेर योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ‘‘म निर्वाचनको मिति तोकेपछिको मन्त्री हुँ, ठूला–ठूला आश्वासन म दिन्नँ । यस क्षेत्रका जायज कुरालाई पक्कै सम्बोधन गर्नेछु ।’’ उनले सरकारले सुशासन प्रत्याभूत हुने गरी काम गरेको र दोषीहरु जेल परेको भन्दै अनियमितता गर्ने कोही पनि उम्कन नसक्ने बताए । छलफल कार्यक्रममा मन्त्री ढकालले निर्धारित समयभित्रै चुनाव हुने र चुनावको विकल्प नभएको पनि उल्लेख गरे ।




