बागलुङ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डले तीव्रता पाएको छ ।
सम्पर्कविहीन भएका निर्माण व्यवसायीले मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय बागलुङमा छ महिनाभित्रै कालोपत्र गर्ने लिखित प्रतिबद्धता जनाएका थिए । सम्पर्कमा आएका ठेकेदारले लिखित प्रतिबद्धता जनाए लगत्तै लोकमार्गको बागलुङ सदरमुकामबाट घोडाबाँधे खण्डले गति लिएको छ ।
लोकमार्गको बागलुङ बजारको उपल्लाचौरबाट अछेत बिहुँसम्मको १३ किलोमिटरमा १५० मिटर चट्टान कटिङको काम बाँकी रहेको थियो भने बिहुँबाट घोडाबाँधे खण्डको १२ किलोमिटर सडक कालोपत्र गर्नका लागि कच्चा पदार्थको अभावमा काम अगाडि बढ्न सकेको थिएन । अहिले दुवै खण्डमा निर्माणले तीव्रता पाएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।
अहिले बागलुङबाट अछेते बिहुँ खण्डमा पर्ने बागलुङ नगरपालिका–३ खहरेको भिर कटानको काम भइरहेको र बिहुँबाट घोडाबाँधे खण्डमा क्रसर सञ्चालन थालिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए ।
‘उपल्लो खण्डमा कच्चा पदार्थको अभाव थियो, त्यसको समाधान भएको छ, तल्लो खण्डको मुख्य समस्याका रूपमा रहेको खहरेको चट्टान अहिले धमाधम कटान भइरहेको छ’, मरासिनीले भने, ‘ठेक्का सम्झौता भएको पाँच वर्षपछि कालोपत्रका लागि काम शुरु भएको छ ।’
मरासिनीका अनुसार तल्लो खण्डमा खानेपानीको पाइप हटाउने र घरको मुआब्जा दिने काम अगाडि बढ्न बाँकी छ । लोकमार्गको टाउको दुखाइको रूपमा रहेको बोक्सेखाल्टोमा ग्याविनसमेत थालिएको छ । एक सय ५० मिटर लामो चट्टान कटान ५० प्रतिशत सकिएको लोकमार्ग आयोजना बागलुङ घोडाबाँधे खण्डका इन्चार्ज इञ्जिनीयर उज्जल शर्माले जानकारी दिए ।
‘खहरेको भिरमा जम्मा ३।५ मिटर सडकमा सवारी आउजाउ गरिरहका थिए’, शर्माले भने, ‘अहिले नौ मिटर चौडा बनाउने गरी धमाधम सडक कटान भइरहेको छ, १० देखि १५ दिनमा सबै चट्टान कटान गरेर सकिन्छ ।’
शर्माका अनुसार उपल्लो खण्डलाई आवश्यक कच्चा पदार्थ गलकोट नगरपालिका–१ चौराहस्थित सामुदायिक वनबाट प्रतिटिपर एक हजार २०० मा खरिद गर्ने सम्झौता भएपछि उपल्लो खण्डमा ४० कामदार नाली निर्माणमा खटिएका छन् । यस्तै तल्लो खण्डमा ६० कामदार नाली तथा ग्याविन जाली निर्माणमा खटिएको शर्माको भनाइ छ ।
ठेक्का सम्झौता भएको पाँच वर्ष बित्नै लाग्दासमेत कालोपत्र हुन नसक्दा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे यात्रा गर्नुपर्ने बाध्यता भए पनि म्याद सकिने समयमा निर्माणले तीव्रता पाउँदा केही आशा पलाएको छ । ट्रयाक खोलेको २० वर्ष बितिसक्दासमेत कालोपत्र नभएकामा यहाँका जनप्रतिनिधि, स्थानीय प्रशासन, नेताहरुले चर्को आलोचनासमेत खेप्दै आएका छन् ।
कूल एक हजार ७७६ किलोमिटरको लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । सोमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले बताएको छ । बागलुङको लाइफलाइनको रूपमा जोडिएको सडक मध्ये २५ किलोमिटरको बागलुङ सदरमुकाम खण्ड दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो ।
उपल्लाचौरदेखि अछेते–बिहुँखण्ड विसं २०७३ माघ १४ गते भारत–सिद्धिसाइ जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधेखण्ड विसं २०७२ माघ १० गते एमपी–एससिएफ–इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरिएको थियो । पाँच वर्ष बित्नै लाग्दा आयोजनाको जम्मा ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।
लोकमार्गको निसीखोलाखण्ड जम्मा १७ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । सदरमुकामबाट बिहुँसम्मको खण्डमा ठेक्का अवधि यही माघ १२ र बिहुँबाट घोडाबाँधे खण्डको ठेक्का मिति माघ ९ गते सकिँदैछ ।
दुवै निर्माण कम्पनीलाई अन्तिम पटक छ महिनाको म्याद थप्ने आयोजनाको तयारी छ । ठेकेदार कम्पनीले मङ्सिर २१ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले गरेको अन्तक्र्रिया कार्यक्रममा लिखितरूपमै २०७८ जेठभित्रै सडक कालोपत्र गर्ने प्रतिबद्धता जनाएपछि लोकमार्ग निर्माणले तीव्रता पाएको हो ।
सदरमुकामबाट बिहुँखण्डमा सम्बन्धित निकायले पाइप र घर हटाएमा जेठभित्रै सडक कालोपत्र गरी आयोजनालाई बुझाउने भारत–सिद्धिसाइ जेभीका आधिकारिक प्रतिनिधि दीपेन्द्र शाहीले बताए । उनले अब लोकमार्गको काम नरोकिने भन्दै लोकमार्गको अवरोध हटाउन सबैलाई पहल गर्न आग्रह समेत गरे ।



