चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडा भेटियो : पाँच महिनामा १७ गैँडा मरे

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत भेटिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा गैँडा मृतावस्थामा भेटिएको हो ।

गैँडा बूढो भएर कालगतिले मरेको आकलन गरिएको छ । उक्त गैँडा निकुञ्जको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमितरूपमा देखिने गरेको र रेखदेखमा नै रहेको अधिकारीले जानकारी दिए । उक्त गैँडाको खाग खुर सुरक्षित रहेको छ ।

यससँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले १३ र चोरी शिकारीबाट चार गैँडा मारिएका छन्। चालु आर्थिक वर्षको पाँच महिनामा १७ वटा गैँडा मरेका हुन् । निकुञ्जमा गैँडा मर्ने र मारिने क्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ ।

यस विषयमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलेसमेत निकुञ्जको स्थलगत अवलोकन गर्नुका साथै निकुञ्जका कर्मचारी तथा सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री