उद्योग वाणिज्य महासंघको मतदान जारी, आजै मतगणना हुने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिको निर्वाचन आज बिहान ८ बजेदेखि शुरु भएको छ ।

महासंघको चुनाबका लागि जिल्ला र नगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा गरी तीन ठाउँमा मतदान भइरहेको छ । त्यस्तै महासंघको निर्वाचनमा कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् । कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्।
निर्वाचन सकिएसँगै विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन्।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानलसहित उत्रिएका छन् । यस्तै वस्तुगततर्फ अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् । जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन भने एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन् ।

यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना प्रतिस्पर्धामा रहेका छन् । महासंघका उपनिर्देशक बिदुरचन्द्र लामिछानेले साँझ ४ बजेसम्म मतदान हुने र आजै मत गणना हुने खरीबोटलाई जानकारी दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस