काठमाडौं । काठमाडौंको कलंकीमा पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । आज बिहान मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार तीव्र गतीमा रहेको कुखुरा बोक्ने बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा उक्त ट्रकमा सवार ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामाङ, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र तारकेश्वरकै भुवेन्द्र तामाङ रहेका छन् ।
दुर्घटनामा परी गम्भीर भएका उनीहरुको शहिद मेरोरियर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी बोहोराले जानकारी दिए । उनका अनुसार घाइते भएका नुवाकोटका विजय तामाङको उपचार भइरहेको छ । दुबै ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको कालिमाटी बृत्तले जानकारी दिएको छ ।




