काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ३ करोड ५७ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ५७ लाख ९३ हजार २२७ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १२ लाख ६१ हजार ९८० जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ५ करोड ७ लाख ३१ हजार १५१ छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ४३ हजार ७६८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड २ लाख ८८ हजार ४८० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ७ हजार २६ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ५१२ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २६ हजार ६५३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४९१ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार ६६१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८५ लाख ५३ हजार ८६४ पुगेको हो ।
प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५६ लाख ६४ हजार ११५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १११ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ३९७ पुगेको छ ।




