काठमाडौँ ।सरकारले उपत्यकाको यातायातलाई व्यवस्थित गर्न भन्दै काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश २०७७ जारी गरेको छ । उपत्यका सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा छलफलका क्रममा छ ।
संसद् बन्द रहेको र विधेयक पारित हुन ढिला हुने भएपछि गठन आदेश जारी गरिएको जनाइएको छ । विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरेको जनाइएको छ । समितिको काम, कर्तव्य र अधिकारमा प्राधिकरणको भौतिक तथा संस्थागत संरचना तयार गर्ने, प्राधिकरण स्थापना गर्न आवश्यक सम्भाव्यता अध्ययन गर्ने, गराउने राजपत्रमा उल्लेख छ ।
प्राधिकरण स्थापना र सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, प्राधिकरणको कार्य क्षेत्र र त्यसका संरचनाको गुरुयोजना तयार गरिने छ । प्राधिकरण सञ्चालनका लागि कार्यालयलगायत भौतिक संरचनाका लागि आवश्यक जग्गा खरिद गर्ने वा प्रचलित कानुनबमोजिम जग्गा प्राप्ति गर्ने विषय आदेशमा उल्लेख छ ।
भौतिक संरचना निर्माण गर्दा प्रचलित कानुनबमोजिम गर्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन, प्राधिकरणको विकाससँग सम्बन्धित विषयमा प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गर्ने तथा सरोकारवालासँग परामर्श गरी सुझाव लिइनेछ । काठमाडौं उपत्यका सार्वजनिक यातायात सम्बन्धमा अवलम्बन गर्नुपर्ने अल्पकालीन तथा दीर्घकालीन नीति, योजना र रणनीतिको मस्यौदा तयार गर्ने, काठमाडौं उपत्यका सार्वजनिक यातायात सेवा सञ्चालन तथा व्यवस्थापनको सर्त निर्धारण, एकीकृत यातायात प्रणालीको विकास र सञ्चालन सम्बन्धमा आवश्यक अध्ययन अनुसन्धान गरिनेछ । उपत्यकाको सार्वजनिक यातायातका लागि सूचना प्रविधिमा आधारित एकीकृत प्रणाली, नगदरहित भाडा र विद्युतीय टिकट प्रणालीको विकास गर्न आवश्यक अध्ययन तथा तयारी गरिनेछ । सार्वजनिक यातायातसँग सम्बन्धित विवरण नियमित रूपमा संकलन र अभिलेखन अद्यावधिक गरी त्यसको उपयोग गर्ने समितिको काम हो ।
प्रचलित कानुनअनुसार काठमाडौं उपत्यकाका बिसौनी, यात्रु प्रतीक्षालय तथा पार्किङस्थल निर्धारण गर्न र त्यस्ता स्थल आसपासमा यात्रुका लागि आवश्यक शौचालयलगायतका न्यूनतम सेवासुविधाको व्यवस्था गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने, उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातको रुट तथा भाडादर निर्धारण गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने काम पनि समितिले गर्नेछ ।
#ईकान्तिपुरबाट




