कैलाली । धनगढी उपमहानगरपालिका- १२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मृत फेला परेका छन् । रातिदेखि बेपत्ता भएका असई गोविन्दबहादुर साउँदको शव आज बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परेको हो ।
उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साँउद भने फेला परेका छैनन् । चौकीबाट मोटरसाइकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुवैजना साढे १० बजे देखि सम्पर्कविहीन भएका थिए ।
आज बिहान उनीहरूको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरू चढेको मोटरसाइकल फेला परेको र करिब तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव महाननिरीक्षक उत्तम सुवेदीसहितको प्रहरीको टोली यतिबेला घटनास्थल पुगेको छ । प्रहरीले तस्करहरूसँग भीडन्त भएको हुन सक्ने आशंका गरेको छ ।
तपाईंको प्रतिकृया




