काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा ३ करोड ३० हजार ८३९ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।
संक्रमितमध्ये हालसम्म ९ लाख ४५ हजार ५१ जनाको मृत्यु भएको छ । विश्वमा रहेका संक्रमितमध्ये हालसम्म २ करोड १७ लाख ९७ हजार ९१८ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।
अहिले विश्वमा उपचाररत कोरोना संक्रमितको संख्या ७२ लाख ८७ हजार ८७० रहेको छ, जसमध्ये ७२ लाख २६ हजार ६४७ जनाको अवस्था सामान्य रहेको छ भने ६१ हजार २२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख १ हजार ३४८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ६८ लाख २८ हजार ३०१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार १५४ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार १५१ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ हजार २३० पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ९७ हजार ८५९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५१ लाख १५ हजार ८९३ पुगेको हो ।
प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४४ लाख २१ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९६७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ३४ हजार १७४ पुगेको छ ।
नेपालमा बुधबार देशभर गरी १ हजार ५३९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५८ हजार नाघेको छ । अहिले देशभरि १६,२४८ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये ८,५४१ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३७९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।
प्रतिकृया दिनुहॊस