काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिले बीपी कोइरालाको १०७ औं जन्मजयन्तीमा यस वर्ष विगत जस्ता कार्यक्रमहरु नहुने काँग्रेसले जनाएको छ ।
कोरोना संक्रमणका कारण औपचारिक कार्यक्रम नहुने भए पनि काँग्रेसका शीर्ष नेताहरुले जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको जन्मजयन्ती मनाइने कांग्रेसले जनाएको छ ।
नेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म विसं १९७१ भदौ २४ मा भएको थियो । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए ।
तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो । पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।
उनले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।



