काठमाडौं । लामो समयदेखि चर्चा भएको रात्रिकालीन सम्पदा यात्रा अब उपत्यकामा शुरू हुने भएको छ । कोरोनाले ल्याएको असामान्य परिस्थितिपछि आउने सामान्य अवस्था (न्यु-नर्मल) मा राजधानीका तीनवटै सहरमा नेपाल पर्यटन बोर्डले रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गर्ने भएको हो ।
‘रात्रिकालीन सम्पदा यात्रामा उपत्यकावासी आफूलाई मनपर्ने सम्पदामा परिवारसहित घुम्न जानेछन् । बाटामा रैथाने खान्कीका स्टल हुन्छन्,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले भने, ‘कम्तीमा १२ बजेसम्म घुमघाम गर्न पाइनेछ ।’
सीईओ रेग्मीले कीर्तिपुर, काठमाडौं र ललितपुरमा रुट पहिचान भइसकेको जानकारी दिए । ‘प्रवर्द्धनात्मक सामग्री तयार भइरहेका छन् । डिजिटल प्लेटफर्मबाट एकैसाथ प्रवर्द्धन गरिनेछ,’ उनले भने । बोर्डका रात्रिकालीन यात्रा भक्तपुरमा शुरू भइसकेको छ ।
बोर्डले कोरोना संक्रमण अन्त्यपछि दिनमा ५ लाख आन्तरिक पर्यटकलाई चलायमान बनाउन कार्ययोजना अघि सारेको छ । ‘शनिबार वा अरू बिदाका दिन घरभित्रै बसिरहेका उपत्यकावासीलाई वरिपरि घुम्न प्रेरित गर्न बोर्डले सामग्री तयार गर्दै छ,’ सीईओ रेग्मीले भने, ‘नजिकैका साइकल गुड्ने ट्रेल, सम्पदा, डाडाको म्यापसहित भिडियो सामग्री उत्पादन गर्दै छौं ।’
आन्तरिक पर्यटकको चलायमानले आर्थिक गतिविधि हुने, निजी क्षेत्र फस्टाउने र कोरोनाका कारण घरभित्रै महिनौंदेखि बसेका उपत्यकावासीमा मानसिक तथा शारीरिक स्फूर्ति जगाउने भएकाले सम्पदा यात्राको अवधारणा ल्याइएको सीईओ रेग्मीले बताए । ‘पुराना पदयात्राका ट्रेलको पुन खोजी गर्ने, बाटामा संकेत राख्ने, सुधार्नेलगायतका काममा बोर्ड लाग्नेछ’ उनले भने, ‘काठमाडौं उपत्यकाका चारैतिर अफरोड ड्राइभिङ, साइक्लिङ, पदयात्रा, घुमफिरजस्ता क्रियाकलाप सञ्चालन गरिनेछ ।’ बोर्डको यो अभियानका लागि निजी क्षेत्र र स्थानीय तहले पूर्वाधार विकास गर्नेछन् ।
बोर्डले आन्तरिक पर्यटन बजारको विकास गर्न नेपालका सबै जिल्लाको प्रोफाइल बनाएको छ । प्रोफाइलमा पर्यटकीय सम्पदासहित अन्य पहिचान पनि समेटिएको छ । बोर्डले अब देशभरका सबै जिल्ला र पर्यटकीय गन्तव्यको म्यापिङ गरी अनलाइनमा विस्तृत डाटा राख्ने जनाएको छ । पर्यटकको स्वास्थ्यमा ध्यान दिन प्रोटोकल बनाइएको छ । अहिलेसम्म ६ सय जनाले प्रोटोकलबारे तालिम लिइसकेको बोर्डले जनाएको छ ।
बीबीसी र सीएनएनबाट नेपालको प्रचार
बोर्डले चालु वर्ष बीबीसी र सीएनएनबाट नेपालको विज्ञापन गर्ने भएको छ । यसका लागि बोर्डले साढे २ करोड बजेट विनियोजन गरिसकेको छ । बीबीसी र सीएनएनका विज्ञापनसम्बन्धी प्रतिनिधिलाई भेट गरी विस्तृत विवरण माग गरिसकेको बोर्डले जनाएको छ ।
हालको सार्वजनिक खरिद ऐनमा यसबारे केही बुँदा संशोधन गर्नुपर्ने भएकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखिपठाइएको छ । ‘यसअघि बीबीसी, सीएनएनबाट नेपालको प्रचार भएको छैन,’ सीईओ रेग्मीले भने, ‘यसपटक एउटा टिम नै बनाएर लागिरहेका छौं ।’
बोर्डले छिमेकी मुलुक चीनको पर्यटन बजारमा सर्वाधिक रुचाइने सी–ट्रिपमा नेपाल प्रवर्द्धन गर्ने भएको छ । चीनका वायुसेवा, होटल, ट्राभललगायतका कम्पनीहरूको एकीकृत साइटमा नेपाल भम्रणमा आएका राष्ट्रपतिको सामग्री देखाइनेछ । बोर्डले नेपाल प्रवर्द्धन हुने उक्त भिडियो चिनियाँ दूतावासलाई दिइसकेको छ । सी-ट्रिपमा प्रचार गर्न वैशाखमा स्थगित गरिएको भ्रमण वर्ष सचिवालयले धेरै कार्य सकिसकेको थियो ।
नेपालमा पछिल्ला वर्ष चिनियाँ पर्यटक भारतकै हाराहारी छन् । बोर्डले भारतीय पर्यटकलाई पनि आकर्षण गर्न त्यहाँका सञ्चारमाध्यमबाट प्रचार गर्ने कार्यक्रम बजेटबाटै ल्याइसकेको छ । नेपालले विदेशी सञ्चारमाध्यमबाट नेपालमा मात्रै अनुभव गर्न पाइने १२ हाराहारी गतिविधिको प्रचार गर्ने भनेको छ ।
अब पर्यटकलाई आकर्षित गर्न बोर्डले आफ्नो वेबपेजलाई चिनियाँ, रसियाली, अंग्रेजी, स्पेनी, फ्रेन्च र जर्मन भाषामा पनि रूपान्तरण गरेको छ । चालु वर्ष बोर्डले पर्यटन प्रवर्द्धन गर्न ८ करोड ३० लाख बजेट विनियोजन गरिसकेको छ । –कान्तिपुर दैनिकबाट




