काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या २ करोड ६४ लाख ६५ हजार नाघेको छ भने ८ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ६४ लाख ५५ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ८ लाख ७३ हजार १०८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १ करोड ८६ लाख ६० हजार ११२ जना कोरोना मुक्त भएका छन् ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ९१ हजार ५८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ६३ लाख ३५ हजार २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४४ हजार ५०७ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ९४ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ४० लाख ४६ हजार १५० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८३० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख २४ हजार ७२९ पुगेको छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ हजार ५७९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८४ हजार १५६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३९ लाख ३३ हजार १२४ पुगेको हो ।
नेपालमा विहिबार देशभर गरी १ हजार २२८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४२ हजार ८७७ पुगेको छ । अहिलेसम्म २४,२०७ सङ्क्रमित निको भइसकेका छन् भने २५७ जनाको मृत्यु भएको छ ।



