जसपाको विज्ञप्तिप्रति प्रधानमन्त्रीको सचिवालयको आपत्ति: भन्यो- ‘पूर्वाग्रही र अत्यन्त खेदजनक’

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले आपत्ति जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले एक विज्ञप्ति जारी गर्दै जनता समाजवादीको विज्ञप्तिको एक अंशप्रति गम्भीर ध्यानआकर्षण भएको जनाएका छन् ।

सल्लाहकार थापाले प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको बताएका छन् ।

उनले भनेका छन् – ‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत ज़िम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो । राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला ।’

सुर्य थापाले जारी गरेको विज्ञप्ति :

‘जनता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति गंभीर ध्यानाकर्षण भएको छ । सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ ।

पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत ज़िम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो ।

राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला ।

सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नो स्वार्थका रोटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्यारो देख्छन् र उज्यालोको भर्त्सनामा जुट्छन् ।

जहाँसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना, विरोध र गालीगलोज गरिएको सन्दर्भ हो, यो कुनै नौलो कुरा होइन । आफ्नो निहीत स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको तथ्य स्पष्ट नै छ । त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ ।

शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफै असुरक्षित र पतन हुनु अनिवार्य छ ।

जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्तिअनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्नाभिन्नै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत नै रहिआएको छ । तसर्थ: जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएको भाषा निन्दनीय रहेको तर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री