काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ५८ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २० लाख नाघेको हो ।
बीबीसी हिन्दीले उल्लेख गरेअनुसार कुल संक्रमितको संख्या २० लाख २१ हजार ४०७ छ । भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । भारतमा पछिल्लो २० दिनमा संक्रमितको संख्या ठ्याक्कै दोब्बरले बढेको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १३ लाख २८ हजारभन्दा बढी निको भएका छन् ।
भारतमा कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा ४ लाख ६८ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म १६ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा शुक्रबार बिहानसम्म ४८ लाख ७६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।



