काठमाडौं । पर्साको ठोरीस्थित सीता गुफानजिकै रहेको नेपाल-भारत सीमास्तभ उखेलेर फालेको अवस्थामा फेला परेको छ । ठोरी गाउँपालिका-२ स्थित सीता गुफानजिकै रहेको ४३५ नम्बरको सीमा स्तभ उखेलेर फालेको अवस्थामा फेला परेको हो ।
पिलर गाडिएको स्थानभन्दा ५ मिटर भारत तर्फको भूभागमा फालेको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीले जनाएको छ । पिलर उखेलेर फालिएको खबर पाएलगत्तै शनिबार साँझ आफूहरु त्यहाँ पुगेको सशस्त्र प्रहरी निरीक्षक दीपक दाहाल बताए । उनका अनुसार यस विषयमा अनुसन्धान भइरहेको छ ।
ठोरीका स्थानीयले भने पिलर भारतीय सुरक्षाकर्मीले फालेको आरोप लगाएका छन् । भारतीय सुरक्षाकर्मीले उक्त स्थान आफनो भूमिमा पार्ने नियतले सीमाको पिलर उखेलेर फालेको हुन सक्ने उनीहरुको अनुमान छ ।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा गत हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद अभिव्यक्ति दिए । उनले रामको जन्मभूमि पर्सास्थित ठोरी रहेको पनि बताए । प्रम ओलीको अभिव्यक्तिले सिंगो भारत तरंगित भयो ।
नेपालमा पनि यसका पक्ष विपक्षमा बहस भए । रामको जन्मभूमिका विषयमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि ठोरी एकाएक चर्चामा आयो । यहि चर्चा र विवादकै कारण सीमा स्तम्भ एकाएक उखेलिएपछि ठोरीका बासिन्दाले यसलाई षडयन्त्रको रुपमा लिएका छन् ।
प्रतिकृया दिनुहॊस